रविन्द्र कुमार ज्ञवाली । देशले कोल्टो फेरेको जस्तो त देखिन्छ । केन्द्रिय प्रणाली बाट प्रादेशिक रुप फेर्दै गरेको देशले आगामी दिनहरुमा के कस्ता अनुभुति लिन्छ हेर्दै गरौं । विश्वास लिन अलि गाह्रै छ किनकि शरीरको लुगा फेर्दैमा मान्छे नै परिवर्तन भएछ भन्न कदापि मिल्दैन । देशमा जुन सुकै प्रणाली आओस तर जनता त उनै हुन, नेता पनि त उनै हुन र तौर तरिका पनि त उस्तै नै छ । के वास्तवमा परिवर्तन भएकै हो त ? कि मानिसले जस्तै देशले पनि लुगा मात्र फेरेको हो ? जे होस आम नेपाली जनताले केहि नयाँ आशा लिने वातावरण बन्दै गरेको छ सुधार हुन्छ कि भन्ने सपना देख्न सकिन्छ कि भन्ने विश्वास कता कता नजागेको पनि होइन ।नितान्त खाँचो छ, देशले लुगा फेर्नुको साथै आफु पनि फेरिएको महशुस गर्न सकोस । सबै नेपाली जनताले पनि अब पुरानो लुगा फेरेर नयाँ लुगाको सही अनुभुति लिन सकुन र आफैमा पनि परिवर्तन आएको महशुस गर्न सकुन । तर परिवर्तन आउनु भनेको पनि त अलि गाह्रै कुरा हो , जब सम्म हामीमा परिवर्तन देखिंदैन केहि हुनेवाला छैन । अब देश ले “जनता मात्र भएर हुँदैन, नागरिक बन नेपालीहरु ” भन्दै छ, चाँहदै छ कि “नेपालीहरु अब केही उपाय गर र आफु पनि बन र अरुलाई पनि बन्न मद्दत गर ”। नेपाली नागरिक्ता बोक्दैमा नागरिक भन्दैन देशले , यसले त ति नागरिकहरुको सपना बोकेर बसेको छ जो आफ्नो मात्रृभूमिलाई आमा जस्तो मायाँ गरुन, बाबु जस्तो सम्मान गरुन, जसरी आफ्नो घरलाई मायाँ गर्छन त्यसरी नै देशलाई पनि मायाँ गरुन । नागरिक बन्न त्यति सजिलो छैन जति जनता बन्न सजिलो छ, किनकि नागरिहरुलाई देशले जसरी सार्वभौमसत्ता दिएको छ त्यसरी नै कर्तव्य पनि बाँधेको छ । अधिकारको लडाईमा सबैभन्दा अगाडी र कर्तव्य देख्नासाथ मुख लुकाउने जनतालाई देशले नागरिक भन्दैन । अधिकार र कर्तव्य दुबैलाई समान रुपले उपभोग तथा पालना गर्दै अगाडी बढ्ने सपुतहरुको सपना बोकेको छ नेपालले अब ।
अब हामी आफै महशुस गरौं कि हामी को हौं ? जनता वा नागरिक ? राज्यको प्रबृत्ति नै हो कि जनताको सार्वभौमसत्तालाई केही निरंकुश आँखाले हेर्ने, संसारका प्रायः सबैजसो मुलुकहरु यो प्रबृत्तिबाट मुक्त हुन सकेका छैनन् तर जुन देशका जनताहरुले नागरिक हुनु को अर्थ बुझेका छन् र सोही अनुसारले अधिकार र कर्तव्यलाई समान रुपले प्रयोग गरेका छन् ति राज्यहरु नै आज निकै अगाडी बढ्नमा सफल हुन सकेका छन् । अतः जनताबाट नागरिक बन्नको लागि केहि त गर्नै पर्छ, नेपाली नागरिक्ता बोकेर अधिकार मात्र खोज्ने र कर्तव्यलाई बाई बाई गर्नेहरु के नागरिक हुन ?
हामी जे थियौं ठीकै छ, जे ग¥यौं ठीकै छ, विगत थियो विति सक्यो । विगतमा जे गरियो , सहियो ठिकै थियो तर अब अगाडी जे बन्छौं वा गछौं यो कुराले भने निकै अर्थ राख्छ किनकि हाम्रो भविष्यको कुरा होे । छाडौं पुराना कुराहरु, ति सबै गई सके अव नागरिक बनौं, नचाहिने कुराहरुलाई “नाई ” भन्न सिकौं, “हुनै सक्दैन” भन्न सिकौं । विरोध गर्न सिकौ नचाहिने कुराहरुको चाहे नेताको कुरा होस, कर्मचारीको कुराहोस, कुटनितिज्ञको कुरा होस, डाक्टर, इन्जिनियर, वकील, ठेकेदार जो सुकै किन नहोस नचाहिने कुरा गर्छन भने “अव यसो हुन्न ” भन्न सक्नु पर्छ असल नागरिकले अनि बल्ल नेपाल आमाका हर्षका आँशुले भन्न लाग्ने छन् “मेरो सपुत बल्ल जाग्यो, अब म ढुक्क छु” । देशको लागि कोही सानो, ठूलो, धनी, गरिब यो जात त्यो जात हुँदैन । कानून, अधिकार, कर्तव्य सवैको लागि समान हुन । एउटा मन्त्री, सचीवको जत्तिको अधिकार छ त्यसरी नै एउटा ठेला तान्ने र हलो जोत्नेको पनि समान अधिकार । कर्महरु आआफ्नो प्रकारका हुन सक्छन् तर अधिकार र कर्तव्यको आँखामा सबै समान रहन्छन् ।
नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न मुलुक हो र लोकतान्त्रिक मूल्य र मान्यतालाई बोकेको छ र देशको सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको हामी नेपालीले आफ्नो अधिकार प्रयोग गरेर चुनेर पठाएका जनप्रतिनिधी हरु जनताको कह, हीतको सुनिश्चित गर्नका लागि पठाईएका हुन र उनिहरुको परम धर्म नै यही हो कि जनताहरुको सर्वोपरी हीतको लागि काम गर्नु र यदि यसो हुँर्दैन भने असल नागरिकको हैसियतले “यसो गर्न मिल्दैन“ भन्न सक्नु नै नेपाली नागरिकको परम कर्तव्यको साथै अधिकार पनि हो र जनप्रतिनिधी ले जनताको आवाजको कदर गर्नु उनिहरुको कर्तव्य हो ।
यसरी नै जनताकोलागि सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुले ढिला सुस्ती, घुसखोरी, हेपाहा प्रबृत्ति राख्छन् भने असल नागरिकहरुको हैसियत ले “यसो गर्न मिल्दैन है” भन्न सक्नु नै नागरिक अधिकारको सही प्रयोग गर्नु हो । यही निर अब नेपाली जनताले पुरानो लुगा फेरेर नयाँ लुगाको अनुभुति लिन सक्नु पर्छ अनि मात्र परिवर्तनको अर्थ आउँछ । यस संसारमा सबै देशहरुमा राम्रा अनि नराम्रा सवै प्रकारमा मानिसहरु हुन्छन, यसरी नै नेता, जनता, कर्मचारी, कुटनितिज्ञ, व्यापारी सवैलाई एउटै तराजुमा तौल्न सकिन्न । जसले राम्रो गर्छ उसको सम्मान गरौंं, सहयोग गरौं अनि पो राम्रो गर्नेलाई गौरबको महशुस हुन्छ, आत्म सन्तुष्टिको महशुस हुन्छ र खराब गर्नेलाई विरोध गरौं, सुध्रिन अवशर दिउँ र मान्दैन भने बहिस्कार गरौं र जनता बाट नागरिक बनौं र कानून र कतव्र्यको समान पलना गरौं ।
जनताले तिरेको करको रकमको प्रयोग कसरी भै रहेको छ भन्ने जानकारी जनतालाई हुनु पर्छ किनकि उसले नै तिरेको पैसा को हिसाब उसले नै पाउँदैन भने किन कर तिर्ने ? अतः अब हरेक नागरिकहरु सचेत हुनु जरुरी छ र आ–आफ्नो क्षेत्रमा भैरहेका विकासका कामहरुमा, राज्यबाट जनताको लागि उपलब्ध गराईएका सेवा सुविधाहरुमा, सेवा प्रदायक निकायहरुले नीतिमा भए बमोजिम कामहरु गरे न गरेकोमा साथै निजि स्तरमा भै रहेका सेवा प्रदायक संघ संस्थाहरुमा नीति बमोजिम सेवा उपलब्ध गराईएका छन् वा छैनन को बोल्ने ? हामी नागरिक बोल्नै पर्छ, सोध्नै पर्छ र यदि कानून बमोजिम छ भने सराहना गर्नु पर्छ हैन छैन भने किन भएन भनेर सोध्नै पर्छ अनिमात्र नागरिक हुनु को सही अर्थ लाग्छ ।
आज सम्म जनता रहेका हामी नागरिक बन्ने कि न बन्ने ?जब सम्म नागरिक र सरकारको वीचमा राम्रो समन्वय हुँदैन तब सम्म राज्य व्यवस्थाको सही सन्तुलन कायम हुन सक्दैन र यो राम्रो अवस्था होइन । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सवै जनताको लागि हुन र जनताको हक हीतको लागि नै समर्पित हुन पर्छ ।
अब हामी चिन्तन गरौं कि हामी आम जनता वा असल नागरिक ? के हौं ?
मानव र वातावरण
(huronment@gmail.com)
0 comments:
Post a Comment